जनकपुरधाम, ०२ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन् ।

काठमाडौँको शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाउँदै उनीहरूले आजैदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारी त्यागेको जनाएका हुन् ।

राजीनामा दिनेमा पार्टीका महासचिव केशवकुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन् ।

उनीहरूले संयुक्त रूपमा बुझाएको राजीनामा पत्रमा पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गर्दै नेतृत्व र अध्यक्ष राजेन्द्र महतोको आगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।

पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधिबीच महासचिवसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएपछि राष्ट्रिय मुक्ति पार्टी नेपालमा आन्तरिक असन्तुष्टि र संगठनात्मक चुनौतीबारे चर्चा सुरु भएको छ ।