काठमाडौं, ०१ असोज । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुवाती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो वार्षिक बजेटको ९ दशमलव ४१ प्रतिशत हो ।

सरकारले सबैभन्दा बढी खर्च चालुतर्फ गरेको छ । चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्म एक खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजित बजेटको ९ दशमलव ६ प्रतिशत हो ।

त्यस्तै, पुँजीगत खर्च भने निकै न्यून देखिएको छ । पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा दुई महिनाको अवधिमा सात अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो वार्षिक लक्ष्यको १ दशमलव ७८ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ भने सरकारले तुलनात्मक रूपमा बढी खर्च गरेको छ । यस शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्म ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजनको १६ दशमलव ५९ प्रतिशत हो ।

आम्दानीभन्दा खर्च बढी
सरकारको खर्चको तुलनामा राजस्व संकलन भने कम देखिएको छ । भदौ मसान्तसम्म सरकारले एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो वार्षिक राजस्व लक्ष्यको ११ दशमलव ५८ प्रतिशत हो ।

यसरी हेर्दा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७३ करोड रुपैयाँ बढी भएको छ ।

राजस्वमध्ये करबाट एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ करोड ३१ करोड ८३ लाख रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको छ । भदौ मसान्तसम्मको संकलन लक्ष्यको करिब १२ दशमलव २ प्रतिशत हो ।

गैरकर राजस्वतर्फ भने सरकारले दुई महिनामा १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन गरेको छ । चालु आर्थिक वर्षमा गैरकर राजस्वबाट एक खर्ब ७७ अर्ब रुपैयाँ उठाउने लक्ष्य सरकारको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । भदौ मसान्तसम्ममा लक्ष्यको ८ दशमलव ९६ प्रतिशत अर्थात् करिब पाँच अर्ब ५३ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।