प्रेस स्वतन्त्रता र पत्रकारका हकहितको माग गर्दै धनुषामा पत्रकारहरूको सामूहिक गिरफ्तारी आन्दोलन
जनकपुरधाम, ०९ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका पेशागत हकहित सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले सामूहिक गिरफ्तारी आन्दोलन गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार आयोजित आन्दोलनमा सहभागी पत्रकारहरूले विभिन्न माग तथा सरोकारका विषय उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
महासंघ धनुषा शाखा भवनबाट सुरु भएको पत्रकारहरूको आन्दोलन जिल्ला प्रहरी कार्यालय धनुषा हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर सम्पन्न भएको थियो ।

सो क्रममा पत्रकारहरूले आफ्ना माग र सरोकार समेटिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लुइँटेलले महासंघले उठाएका विषय तथा मागप्रति आफू गम्भीर रहेको बताए । उनले पत्रकारहरूको माग र सन्देश तत्काल सम्बन्धित सरोकारवाला निकायसम्म पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।
महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला शाखाहरूमा एकैसाथ सञ्चालन गरिएको आन्दोलनमार्फत पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति र पत्रकारितासम्बन्धी विभिन्न समस्याको समाधानका लागि सरकार तथा सम्बन्धित निकायलाई दबाब दिने उद्देश्य राखिएको छ ।

पत्रकारिताको स्वतन्त्रता, पेशागत मर्यादा र पत्रकारका अधिकारको संरक्षणका लागि सामूहिक एकता र संस्थागत पहल आवश्यक रहेको महासंघ धनुषाका अध्यक्ष पुरन साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




