सप्तरी, १४ कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजलीमा शनिबारदेखि दुईदिने आदिवासी जनजाति साहित्य महोत्सव–२०८३ सुरु भएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आदिवासी जनजातिका परम्परागत बाजागाजा बजाएर महोत्सवको उद्घाटन गरेका हुन् ।

परम्परागत सांस्कृतिक बाजागाजासहित गरिएको उद्घाटनपछि औपचारिक कार्यक्रम सुरु भएको थियो ।

सप्तकोशी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन समारोह वडाध्यक्ष गोसाई चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्तिक १४ र १५ गते गरी दुई दिनसम्म सञ्चालन हुने महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, साहित्य, कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

महोत्सवमार्फत आदिवासी जनजातिको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्ने उद्देश्य राखिएको छ ।