राधाकृष्ण सार्वजनिक पुस्तकालयको अध्यक्षमा शम्भु यादव निर्वाचित
जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित राधाकृष्ण सार्वजनिक पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
मतपरिणामअनुसार अध्यक्ष पदमा शम्भु यादव ५१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामदत्त ठाकुरले ४० मत प्राप्त गरे ।
त्यसैगरी, उपाध्यक्ष पदमा बिहारी राउत ४७ मतसहित विजयी भएका छन् भने अर्का उम्मेदवार अरुण कुमार यादवले ३९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा दयानिधि यादव ५३ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिस्पर्धी वचन यादवले ३७ मत प्राप्त गरे ।
सचिव पदमा रामविलास धनकार ४८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र राउतले ४० मत प्राप्त गरे । यसैगरी, सहसचिवमा अशोक प्रसाद साह ४३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने धनेश्वर राउतले ४१ मत प्राप्त गरे ।
सदस्य पदमा मन्जे राउत सर्वाधिक ७० मतसहित विजयी भएका छन् । त्यस्तै, सूर्यानारायण यादव र भरत यादवले समान ६३ मत, रामकली देवीले ६१ मत, रामप्रसाद सहनीले ५५ मत तथा सोनेलाल राउतले ५४ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन् । सदस्य पदका उम्मेदवार उमेश यादवले ४९ मत प्राप्त गरे ।
निर्वाचनको परिणामसँगै पुस्तकालयको नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूसमक्ष पुस्तकालयको संस्थागत विकास, पठन संस्कृतिको प्रवर्द्धन तथा सामाजिक र शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





