जनकपुरधाम, १४ कार्तिक । सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको विरोधमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् ।

नेपाल प्रहरीले शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि गरेको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा शनिबार प्रदर्शन गरिएको हो ।

प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षाको प्रत्याभूति तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै पत्रकारहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै पत्रकारमाथि भएको धरपकडको विरोध गरेका थिए ।

उनीहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले सञ्चारमाध्यम र पत्रकारलाई निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।

पत्रकारहरूले राज्यका निकायबाटै सञ्चारमाध्यममाथि हस्तक्षेप हुनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतामाथिको चुनौती भएको भन्दै घटनामा संलग्नमाथि छानबिन गरी आवश्यक कारबाही गर्नसमेत माग गरेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको पेसागत सुरक्षाको मागसहित गरिएको प्रदर्शनमा जनकपुरधामका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।