नक्कली नोटसहित दुई जना पक्राउ
सिरहा, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट उनीहरू पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंकाका आधारमा जाँच गर्दा नक्कली नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका तीन थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नक्कली नोट बरामद गरिएको छ । बरामद नोटको कुल अंकित मूल्य २५ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई बरामद नक्कली नोटसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





