जनकपुरधाम, १४ कार्तिक । जनताको आवाज र सामाजिक सरोकारका विषयलाई केन्द्रमा राखेर जनसरोकार अभियान जनकपुरधामले आफ्नो आगामी कार्यदिशा र रणनीति तय गर्न कार्यसमितिको बैठक सम्पन्न गरेको छ ।

बैठकमा संस्थाको भावी कार्ययोजना, संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने तथा अभियानका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा विस्तृत छलफल गरिएको हो ।

बैठकले समाज र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूको पहिचान गरी प्राथमिकताका आधारमा योजनाबद्ध ढंगले अभियान सञ्चालन गर्ने विषयमा जोड दिएको छ ।

अभियानका संयोजक जितेन्द्र महासेठले जनसरोकारका मुद्दालाई छलफलमा मात्र सीमित नराखी तिनको समाधानका लागि निरन्तर पहल र खबरदारी आवश्यक रहेको बताए ।

उनका अनुसार जनताले दैनिक जीवनमा भोगिरहेका समस्या, सार्वजनिक सेवा प्रवाहमा देखिएका कमजोरी, सुशासन, पारदर्शिता र जवाफदेहिताका सवाललाई अभियानले प्राथमिकताका साथ उठाउनेछ ।

महासेठले अभियानलाई कुनै निश्चित व्यक्ति वा समूहको स्वार्थभन्दा माथि राखेर आम नागरिकको साझा आवाजका रूपमा स्थापित गर्नु आवश्यक रहेको धारणा राखे ।

उनले संगठनलाई थप सुदृढ बनाउँदै नागरिकका समस्या पहिचान, सम्बन्धित निकायको ध्यानाकर्षण तथा समाधानका लागि दबाबमूलक र रचनात्मक गतिविधि सञ्चालन गरिने बताए ।

बैठकमा अभियानको आगामी कार्यक्रमलाई व्यवस्थित, परिणाममुखी र जनउत्तरदायी बनाउने विषयमा समेत विचार विमर्श भएको जनाइएको छ ।

जनताको आवाज, जनताको सरोकार र सामाजिक रूपान्तरणको उद्देश्यसहित अघि बढिरहेको अभियानले आगामी दिनमा नागरिकका साझा मुद्दालाई प्राथमिकतामा राखेर आफ्नो गतिविधि विस्तार गर्ने जनाएको छ ।