प्रधानमन्त्री बालेन संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रको अवस्था बुझ्दै संवेदनशीलतापूर्वक काम गरिरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाहले सर्वदलीय बैठकलाई बेवास्ता गरेको भन्ने धारणा सही नभएको बताएका हुन् । भोटेकोशी बाढीपछि खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा यसअघि पनि सर्वदलीय छलफल हुँदै आएको छ ।
प्रधानमन्त्रीले बैठकलाई बेवास्ता गर्नुभएको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘बिल्कुल होइन । स्थानीय तहका राजनीतिज्ञसमेत कुरा गरिरहनुभएको छ । प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ । प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ । यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो ।’
लामिछानेले विपद्को अवस्थामा सरकार र पार्टीको भूमिकालाई छुट्टाछुट्टै ढंगले अघि बढाइएको पनि बताए । उनका अनुसार सरकारको जिम्मेवारी प्रधानमन्त्रीले र पार्टीको जिम्मेवारी पार्टीले सम्हालिरहेको छ ।
‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ । त्यसको डुप्लिकेशन आवश्यक छैन,’ उनले भने ।
प्रधानमन्त्री शाहले स्थानीय तहका जनप्रतिनिधिसँग समेत निरन्तर संवाद गरिरहेको लामिछानेको दाबी छ । उनले वडाध्यक्ष तथा पालिकाका जनप्रतिनिधिसँग प्रत्यक्ष कुराकानी भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भूमिकामाथि उठाइने प्रश्नलाई आफूले अनावश्यक ठानेको बताएका छन् ।
भोटेकोशी–त्रिशूली बाढीपछि बाढी प्रभावित क्षेत्रको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि यसअघि सर्वदलीय बैठकले १० बुँदे सङ्कल्पसमेत गरेको थियो ।
बुधबारको बैठकमा भने प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।


