जनकपुरधाम, ३१ भदौ । सरकारले आगामी १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता पुनः खुला गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहेक देशका अन्य क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिँदै दर्ता खुला गरेको हो ।

विभागका अनुसार काठमाडौं उपत्यकाबाहिर विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) दर्ता गर्न सकिनेछ । सोहीअनुसार सबै प्रदेश सरकारलाई सवारीसाधन दर्ता प्रक्रिया अघि बढाउन जानकारी गराइएको छ ।

तर, काठमाडौं उपत्यकाभित्र भने सबै प्रकारका सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छैन । उपत्यकामा स्कुल बस तथा पुरानो सवारीसाधनको सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र दर्ता खुला गरिएको विभागले जनाएको छ ।

सरकारले यसअघि ७ जेठ २०८३ देखि सार्वजनिक सवारीसाधनको दर्ता रोक्का गरेको थियो । दर्ता रोक्नुको कारण र अहिले पुनः दर्ता खोल्नुको आधारबारे विभागका अधिकारीहरूले स्पष्ट जानकारी दिएका छैनन् ।

यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौं उपत्यकाको रुट तथा सवारी व्यवस्थापनलाई ध्यानमा राख्दै उपत्यकाबाहिर सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको हो ।

यसअघि नै सरकारले मालवाहक सवारीसाधनको दर्ता १८ साउनदेखि खुला गरिसकेको थियो । त्यस्तै, ८ असारसम्म एलसी खोलिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गर्ने व्यवस्था गरिएको थियो ।

नयाँ व्यवस्थासँगै काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन तथा दर्ताको बाटो खुलेको छ भने उपत्यकामा भने रुट तथा सवारी व्यवस्थापनलाई केन्द्रमा राखेर सीमित सवारीसाधनको मात्र दर्ता हुने भएको छ ।