सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
प्रहरीले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट १०५ किलो गाँजासहित ज १ च १२१३ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चोहर्वाबाट सिरहातर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउने क्रममा सिरहा नगरपालिका–१ को हुलाकी सडकखण्डमा पुगेपछि चालकले एम्बुलेन्स सडकमा छाडेर फरार भएका थिए ।
त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा जुटका बोरामा लुकाएर राखिएको अवस्थामा १०५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बरामद गाँजा र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिएका छन् । उनका अनुसार नियन्त्रणमा लिइएको एम्बुलेन्स कसको नाममा रहेको हो भन्ने खुलेको छैन ।
प्रहरीले फरार चालकको पहिचान तथा खोजी गरिरहेको छ भने गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान अघि बढाइएको जनाएको छ ।


