रास्वपाका यी २४ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण
जनकपुरधाम, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन बाँकी रहेका आफ्ना सांसदहरूको नामावली सार्वजनिक गरेको छ ।
पार्टीले पटकपटक सूचना प्रवाह, फलोअप तथा संसद् सचिवालयबाट एसएमएसमार्फत समेत ताकेता गर्दा पनि २४ जना सांसदले अझै सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।
रास्वपाले भदौ २९ गतेसम्मको विवरणका आधारमा सम्पत्ति विवरण बुझाउन बाँकी सांसदहरूको नाम सार्वजनिक गरेको हो । सार्वजनिक सूचीमा मोरङदेखि उदयपुरसम्मका विभिन्न निर्वाचन क्षेत्रका सांसदहरू रहेका छन् ।
सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा आशा झा, कन्हैया बनिया, कामिनी कुमारी, कुसुम महर्जन, कृष्णकुमार कार्की, गीता चौधरी, तपेश्वर यादव, पूनमकुमारी अग्रवाल, प्रभा ढकाल, प्रशान्त उप्रेती, मधुकुमार चौलागाईं, यज्ञमणि न्यौपाने, रबिन महतो, राजुनाथ पाण्डे, रामाकान्त प्रसाद चौरसिया, रुबिना आचार्य, लालविक्रम थापा, डा. लेखजंग थापा, शम्भुकुमार यादव, श्रीराम न्यौपाने, सन्तोष राजवंशी, सागर ढकाल, सुशान्त वैदिक र सूर्यबहादुर तामाङ्ग रहेका छन् ।
रास्वपाका अनुसार पार्टीको आन्तरिक ताकेताका साथै संसद् सचिवालयबाट समेत निरन्तर जानकारी गराउँदा पनि ती सांसदबाट विवरण प्राप्त नभएको हो ।
पार्टीले सार्वजनिक गरेको सूचीअनुसार मोरङका आशा झा निर्वाचन क्षेत्र नम्बर ५, कन्हैया बनिया रुपन्देही–४, कामिनी कुमारी महोत्तरी, कुसुम महर्जन काठमाडौं, कृष्णकुमार कार्की मोरङ, गीता चौधरी कञ्चनपुर, तपेश्वर यादव सिरहा–४, पूनमकुमारी अग्रवाल सिरहा, प्रभा ढकाल बारा, प्रशान्त उप्रेती मकवानपुर, मधुकुमार चौलागाईं काभ्रेपलाञ्चोक–१ र यज्ञमणि न्यौपाने मोरङ–१ का सांसद हुन् ।
त्यस्तै, रबिन महतो सर्लाही–२, राजुनाथ पाण्डे काठमाडौं, रामाकान्त प्रसाद चौरसिया पर्सा–३, रुबिना आचार्य मोरङ, लालविक्रम थापा सुनसरी, डा. लेखजंग थापा रुपन्देही, शम्भुकुमार यादव सिरहा, श्रीराम न्यौपाने तनहुँ–२, सन्तोष राजवंशी मोरङ–४, सागर ढकाल गुल्मी–१, सुशान्त वैदिक प्यूठान–१ र सूर्यबहादुर तामाङ्ग उदयपुर–२ का सांसद रहेको सूचीमा उल्लेख छ ।
रास्वपाले भने सम्पत्ति विवरण बुझाउन बाँकी सांसदहरूको संख्या सूची तयार गर्ने क्रममा एक–दुई जना थपघट हुन सक्ने जनाएको छ ।




