जनकपुरधाम, ३० भदौ । महोत्तरीमा प्रेम सम्बन्धको विषयलाई लिएर एक युवकको हत्या गरी शव टुक्राटुक्रा पारेर सेफ्टी ट्याङ्कीमा लुकाएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

भंगहा नगरपालिका–६ का २२ वर्षीय विवेक कुमार सरदार गत भदौ १५ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

जलेश्वर नगरपालिका–११ पिगौनस्थित दिदीको घरबाट बा ३१ प ६१३८ नम्बरको मोटरसाइकल लिएर घरतर्फ हिँडेका सरदार घर नपुगेपछि उनका परिवारले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्रहरीले हुलिया परिपत्र गर्नुका साथै सीसीटीभी फुटेज, प्राविधिक विश्लेषणलगायतका माध्यमबाट अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा सरदार भदौ १५ गते बलवा नगरपालिका–७ बनौटा गाउँबाटै हराएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बलवा नगरपालिका–७ का जितेन्द्र कुमार ठाकुरकी २२ वर्षीया श्रीमती सोनु कुमारी ठाकुरसँग सरदारको प्रेम सम्बन्ध रहेको र यही विषयलाई लिएर पक्राउ परेकाहरूले योजना बनाई उनलाई झुक्याएर घरमा बोलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरमा बोलाएपछि सरदारको हत्या गरी शव लुकाउने उद्देश्यले फलामको दाउलगायतका हतियार प्रयोग गरी शरीरलाई नौ टुक्रा पारिएको प्रहरीको भनाइ छ ।

त्यसपछि शवका टुक्राहरू घर पछाडिको शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ २६ गते बलवा नगरपालिका–७ बनौटा टोलका ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी ५० वर्षीया श्रीमती रामकली देवी ठाकुर, २२ वर्षीया सोनु कुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का २८ वर्षीय सियाराम शर्मालाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनामाथि महोत्तरी जिल्ला अदालतबाट पक्राउ मितिदेखि लागू हुने गरी सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।