जनकपुरधाम, ३० भदौ । धनुषाको औरही गाउँपालिका–१ झिटकहियामा लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसकेको भन्दै स्थानीय युवाहरूले वडा कार्यालय परिसरमै फोहोर थुपारेर विरोध जनाएका छन् ।

झिटकहिया युवा संगठनको अगुवाइमा युवाहरूले गाउँका विभिन्न स्थानमा थुप्रिएको फोहोर ट्र्याक्टरमा संकलन गरी वडा कार्यालय परिसरमा ल्याएर थुपारेका हुन् ।

गाउँको फोहोर व्यवस्थापनको समस्या समाधानका लागि वडा अध्यक्षसँग छलफल गर्न खोजिए पनि कार्यालयमा अध्यक्ष उपस्थित नभएपछि आफूहरूले संकलन गरेको फोहोर वडा कार्यालयमै थुपारेर सांकेतिक विरोध गर्नुपरेको युवाहरूले बताएका छन् ।

स्थानीयका अनुसार झिटकहियामा लामो समयदेखि फोहोर व्यवस्थापनको समस्या रहँदै आएको छ । ठाउँठाउँमा फोहोर थुप्रिँदा गाउँको सौन्दर्य तथा वातावरणमा असर पर्नुका साथै दुर्गन्ध र विभिन्न रोगको जोखिमसमेत बढेको उनीहरूको गुनासो छ ।

युवाहरूले फोहोर उठाउने र व्यवस्थापन गर्ने नियमित व्यवस्था तत्काल मिलाउन वडा कार्यालय तथा गाउँपालिकासँग माग गरेका छन् ।

उनीहरूले समस्या तत्काल समाधानसँगै दीर्घकालीन फोहोर व्यवस्थापन योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्थानीय तहले सरसफाइ तथा फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखे आगामी दिनमा थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने युवाहरूले चेतावनी दिएका छन् ।