सप्तरी, ३० भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीबाट २४ वर्षीय एक युवकलाई मध्यराति घरबाटै उठाएर लगिएको घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश बढाएको छ ।

सोमबार राति करिब १२ बजे घरमा सुतिरहेका अभिनन्दन यादवलाई नचिनेका हतियारधारी व्यक्तिहरूको समूहले जबर्जस्ती उठाएर लगेको परिवारले जनाएको छ । युवकलाई लैजाने क्रममा परिवारका केही सदस्यसमेत सामान्य घाइते भएको अभिनन्दनका बुवा विनोद यादवको दाबी छ ।

घटनालगत्तै परिवारले नेपाल प्रहरीलाई जानकारी गराए पनि प्रहरीले पर्याप्त चासो नदिएको आरोप लगाएको छ । मध्यराति घरबाटै युवकलाई उठाएर लगिएको विषयमा स्थानीयस्तरमा समेत चासो बढेपछि घटनाको वास्तविकताबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार अभिनन्दन यादव अहिले भारतीय प्रहरीको नियन्त्रणमा रहेको खुलेको छ ।

भारतीय प्रहरीबाट प्राप्त जानकारीअनुसार अभिनन्दन भारतको गुडगाउँमा भएको एक हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्ति हुन् । सोही घटनासँग सम्बन्धित अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएर भारत लगिएको भारतीय पक्षले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार अभिनन्दनसँग भारतीय आधार कार्डसमेत रहेको दाबी गरिएको छ । यद्यपि, उनलाई नेपालबाट भारत लैजाने क्रममा अपनाइएको प्रक्रिया र घटनाको विस्तृत विवरणबारे भने थप तथ्य सार्वजनिक हुन बाँकी छ ।

यसैबीच, युवकलाई घरबाटै मध्यराति उठाएर लगिएको घटनाको विरोधमा स्थानीयवासीले बेल्ही प्रहरी चौकीअगाडि प्रदर्शन गरेका छन् । उनीहरूले घटनाको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र युवकलाई नेपाल ल्याउन पहल गर्न माग गरेका छन् ।