जनकपुरधाम, ३० भदौ । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा एक २७ वर्षीया महिला घरकै प्यासेजमा मृत अवस्थामा फेला परेकी छन् ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले उनका श्रीमानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मंगलबार राति करिब १०ः५० बजे स्थानीय ३४ वर्षीय श्रवण महतोकी श्रीमती २७ वर्षीया पुनिता देवी महतो घरको प्यासेजमा मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक उदय शम्शेर जबराको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा कसिएको जस्तो डाम देखिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेको हो ।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् श्रवण महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखी घटनाको प्रकृति तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप तथ्य अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।