११ दिनदेखि बेपत्ता १५ महिनाका बालकको उद्धार, अपहरणको आरोपमा महिला पक्राउ
जनकपुरधाम, ३० भदौ । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतो ११ दिनपछि सकुशल उद्धार भएका छन् ।
बालकलाई अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राखेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवान रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते अपराह्न करिब ४ः४० बजे कमलेश महतोका १५ महिनाका छोरा सिधान्त आफ्नै घरको आँगनमा खेलिरहेका बेला बेपत्ता भएका थिए । बालक हराएको सूचना पाएलगत्तै प्रहरी चौकी गिद्धाबाट टोली घटनास्थल पुगेको थियो ।
बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी उपरीक्षक रुपेश खड्काको कमाण्डमा ६० जना प्रहरी परिचालन गरेको थियो । तालिमप्राप्त कुकुरको समेत सहयोगमा घटनास्थल तथा आसपासका क्षेत्रमा खोजी गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी धनुषा प्रहरीका डीएसपी ओमप्रकाश खनाल तथा मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको कमाण्डमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा बालकलाई पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीको दाबी छ । महिलाले बालकलाई पटकपटक स्थान परिवर्तन गर्दै नेपाल तथा भारतका विभिन्न ठाउँमा लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लाका विभिन्न नाकामा २४ घण्टा निगरानी बढाउनुका साथै प्राविधिक अनुसन्धानलाई समेत तीव्रता दिएको थियो । सोही क्रममा भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे शंकित महिलाले बालकलाई घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेको प्रहरीले जनाएको छ ।
बालकलाई तत्काल उद्धार गरी स्वास्थ्य परीक्षण गराइएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई अभिभावकको जिम्मा लगाइएको र बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बालकलाई छाडेर भागेकी पासवानलाई सोही दिन करिब ३ः४५ बजे भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित नेपाल–भारत दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी पासवानमाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


