जनकपुरधाम, ३० भदौ । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोप लागेकी धनुषाकी हिरादेवी महासेठलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिदेह नगरपालिका दुहवी निवासी महासेठलाई सोमबार राति करिब पौने १२ बजे नेपाल–भारत सीमाको दुहवी दशगजा क्षेत्रबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले एक नेपाली महिलालाई भारतीय सुरक्षा निकायले दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको पुष्टि गरे । उनका अनुसार पक्राउ परेकी महिला हिरादेवी महासेठ रहेको बुझिएको छ ।

प्रहरीका अनुसार केही समयअघि हिरादेवीका श्रीमान् भरत महासेठ बिहारमा नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । सोही घटनासँग जोडिएको ‘नेक्सस’का आधारमा हिरादेवीलाई पनि नियन्त्रणमा लिइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

करिब एक महिनाअघि बिहारको मधुवनी जिल्लास्थित बासोपट्टी थाना क्षेत्रको दुहवी बजारमा भारतीय विशेष कार्यदल (एसटीएफ) र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले नक्कली भारतीय नोट कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो । त्यस क्रममा धनुषाको बिदेह नगरपालिकाका भरत महासेठ र उनका सहयोगी शिवकुमार राउत पक्राउ परेका थिए ।

भारतीय प्रहरीका अनुसार उनीहरूको साथबाट ५० हजार भारतीय रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको थियो। बरामद नोट ५०० दरका रहेको बताइएको छ ।

भारतीय अनुसन्धान अधिकारीहरूले महासेठ परिवार लामो समयदेखि नक्कली भारतीय मुद्रा तथा सीमापार अवैध कारोबारमा संलग्न रहेको आशंका गरिएको बताएका छन् । पक्राउ परेका व्यक्तिहरूसँगको सम्पर्क, मोबाइल फोन, बैंकिङ कारोबार तथा अन्य कागजातका आधारमा अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीको भनाइ छ ।

जयनगरका डीएसपी सदानन्द कुमारले पक्राउ परेकाहरूसँग विभिन्न कोणबाट सोधपुछ भइरहेको र नक्कली नोटको स्रोत तथा त्यसको कारोबारको सञ्जालबारे अनुसन्धान भइरहेको बताए ।

भारतीय प्रहरीको अनुसन्धानमा महासेठ परिवारका अन्य सदस्यको भूमिकामाथि समेत प्रश्न उठाइएको छ । परिवारका सदस्यहरू सीमापार सामान ओसारपसार तथा अन्य अवैध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ ।

महासेठ परिवारका छोरा राजीव महासेठसमेत अनुसन्धानको दायरामा रहेको र उनी हाल फरार रहेको प्रहरी स्रोतले जनाएको छ । यद्यपि, परिवारका सदस्यहरूमाथि लगाइएका आरोपबारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाबाट तथ्य पुष्टि हुन बाँकी छ ।