जनकपुरधाममा बालिका अपहरण प्रयासको आरोपमा पूर्वशिक्षक प्रहरी हिरासतमा
जनकपुरधाम, ३० भदौ । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाइफकाई गरी आफूसँग लैजाने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्साका ३६ वर्षीय मनिष ठाकुर रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम टोलीले महोत्तरीस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भदौ १८ गते जनकपुरधामको रामानन्द चोकस्थित एन्जल बोर्डिङ स्कुलबाट छुट्टी भएपछि बाहिर निस्किएकी बालिकालाई ठाकुरले ललाइफकाई गरी आफूसँगै लैजाने प्रयास गरेका थिए ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले विद्यालय तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा ठाकुरको पहिचान खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीका अनुसार बालिका परिवारसहित जनकपुरधाममा डेरा गरी बस्दै आएकी छन् । उनको स्थायी घर सिरहा रहेको जनाइएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ठाकुर पूर्वशिक्षक रहेको खुलेको छ । उनी महोत्तरीस्थित एक रेडियोमा समेत कार्यरत रहेको प्रहरीको भनाइ छ ।
ठाकुरलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।


