जनकपुरधाम, ३० भदौ । हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व गणेश चतुर्थी र ऋषिपञ्चमी आज एकैदिन श्रद्धा तथा भक्तिपूर्वक मनाइँदैछ ।

गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरमा बिहानैदेखि पूजाआजा तथा दर्शनका लागि श्रद्धालु भक्तजनको भीड लागेको छ । जनकपुरधाममा समेत गणेश पूजालाई लिएर विशेष उत्सवको वातावरण देखिएको छ ।

जनकपुरधामको रामचोकस्थित गणेश मन्दिरमा गणेश युवा कमिटीको आयोजनामा गणेश जन्मोत्सव मनाइँदैछ ।

धनुषसागरको पश्चिम तटमा रहेको गणेश मन्दिरमा मंगलबार चतुर्थी तिथिदेखि विधिपूर्वक पूजा आराधना सुरु गरिएको हो । पूजा अवसरमा भजन कीर्तनलगायतका कार्यक्रमसमेत आयोजना गरिएको छ ।

पुराणअनुसार भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको मानिन्छ । शिवपुराणमा पनि यस तिथिलाई भगवान गणेशको अवतरण तिथिका रूपमा उल्लेख गरिएको छ ।

यस्तै, आज ऋषिपञ्चमी पर्व पनि मनाइँदैछ । यस अवसरमा महिलाहरू बिहानै उठेर नदी, खोला, तालतलैया तथा पोखरीमा स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने परम्परा छ ।

अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रलाई सप्तऋषिका रूपमा पूजा गरिने भएकाले भाद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो ।

ऋषिपञ्चमीका अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका विभिन्न गणेश तथा ऋषि मन्दिरमा पनि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।
यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ ।

यसैबीच, आइतबार दर खाएसँगै सुरु भएको तीज पर्वअन्तर्गत हिजो भाद्र शुक्ल तृतीयाका दिन महिलाहरूले व्रत बसेर पूजा तथा उपासना गरेका थिए । आज ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरेसँगै यस वर्षको तीज पर्व पनि समापन भएको छ ।