–श्याम कुमार ठाकुर
सिरहा, ३० भदौ ।
सिरहाको गोलबजार नगरपालिका–१३ सिमरामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।

घर अगाडि खेलिरहेका स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयांश यादवलाई आज बिहान मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारस्थित लाइफलाइन अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बालकलाई ठक्कर दिएपछि मोटरसाइकल चालक सवारीसहित घटनास्थलबाट फरार भएका थिए । घटनापछि खोजीमा जुटेको प्रहरीले ठक्कर दिने मोटरसाइकल फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार फेला परेको मोटरसाइकलको नम्बर प्र.२–०१–००१ प ६८५६ रहेको छ । मोटरसाइकल नियन्त्रणमा लिए पनि चालक भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।