जनकपुरधाम, २९ भदौ । हिन्दु धर्मावलम्बी महिलाले विशेष धार्मिक आस्थाका साथ मनाउने तीज पर्व मिथिलाञ्चलमा पनि उत्साह र श्रद्धापूर्वक मनाइएको छ ।

विगतमा तराई मधेशमा पहाडी समुदायका महिलामा बढी सीमित रहेको तीज पछिल्ला वर्षमा मैथिल समुदायका महिलाले समेत मनाउन थालेपछि मिथिलाञ्चलमा पर्वको रौनक थप बढेको हो ।

तीजका अवसरमा जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न शिवालय तथा मन्दिरमा महिलाहरूको उल्लेख्य सहभागिता देखिएको थियो ।

बिहानैदेखि व्रतालु महिलाहरू शिव मन्दिरमा पुगेर भगवान शिवको पूजा आराधना तथा उपासना गर्दै पर्व मनाएका थिए ।

व्रतालु महिलाहरूले पति तथा सन्तानको दीर्घायु, परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै तीजको व्रत बसेका थिए ।

धार्मिक मान्यताअनुसार तीजमा भगवान शिवको आराधना गरी व्रत बस्दा पति तथा सन्तानको दीर्घायु हुने विश्वास रहिआएको छ ।

पछिल्लो समय मैथिल समुदायका महिलामा समेत तीजप्रतिको आकर्षण बढ्दै गएपछि मिथिलाञ्चलमा पर्वले नयाँ सांस्कृतिक स्वरूप ग्रहण गरेको छ ।

महिलाहरूले सामूहिक रूपमा पूजा आराधना गर्नुका साथै एकआपसमा शुभकामना आदानप्रदान गर्दै तीजको उल्लास मनाएका थिए ।

स्थानीय महिलाहरूका अनुसार तीज धार्मिक पर्वसँगै विभिन्न समुदायबीचको सांस्कृतिक आदानप्रदान, आपसी सद्भाव र सामाजिक एकताको माध्यमसमेत बन्दै गएको छ ।

मिथिलाञ्चलमा तीजको बढ्दो लोकप्रियताले यहाँको बहुसांस्कृतिक समाजमा नयाँ रौनक थप्नुका साथै धार्मिक तथा सांस्कृतिक विविधतालाई अझ जीवन्त बनाएको छ ।