श्रद्धा र भक्तिपूर्वक मनाइयो चौठचन्द्र पर्व
जनकपुरधाम, २९ भदौ । जनकपुरधामसहित मिथिलाञ्चलमा परम्परागत चौठचन्द्र पर्व श्रद्धा, आस्था र भक्तिपूर्वक मनाइएको छ ।
भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्वका अवसरमा मिथिलाका घरघरमा बिहानैदेखि सरसफाइ तथा पूजाको तयारी गरिएको थियो ।
पर्वका सामग्री खरिद गर्नेको चहलपहलका कारण जनकपुरधामसहित स्थानीय बजारसमेत दिनभर व्यस्त देखिएका थिए ।
चौठचन्द्रमा विशेषगरी महिलाहरूले व्रत बसेर साँझ उदाउँदो चन्द्रमाको पूजा गर्ने परम्परा छ ।
पर्वका लागि घर तथा आँगन गोबरले लिपपोत गरी मध्यभागमा विभिन्न आकृतिसहितको अरिपन बनाइएको थियो । अरिपनमा दीप प्रज्वलन गरी फलफूल, मिठाई, दहीलगायतका प्रसाद चन्द्रदेवलाई अर्पण गर्दै अर्घ्य दिइएको थियो ।
पूजा सम्पन्न भएपछि व्रत समापन गर्ने चलन छ । धार्मिक विश्वासअनुसार द्वापर युगमा भगवान् कृष्णमाथि चोरीको आरोप लागेपछि त्यसबाट मुक्त हुन फलफूलसहित चन्द्रदर्शन गरेको प्रसङ्गसँग चौठचन्द्र पर्व जोडिएको छ ।
मिथिलाञ्चलमा चौठचन्द्र पर्वको शुरुवात तत्कालीन दरभंगा नरेश हेमांगद ठाकुरले गरेको जनविश्वास छ ।
ज्योतिषशास्त्रका ज्ञाताका रूपमा परिचित ठाकुरले पर्वको सुरुवात गरेपछि मिथिलाका घरघरमा यो पर्व मनाउने परम्परा बसेको मानिन्छ ।
धार्मिक आस्था र मिथिलाको मौलिक संस्कृतिसँग जोडिएको चौठचन्द्र पछिल्लो समय पारिवारिक तथा सामाजिक सम्बन्ध मजबुत बनाउने र मिथिलाको सांस्कृतिक पहिचान संरक्षण गर्ने महत्वपूर्ण पर्वका रूपमा समेत स्थापित हुँदै गएको छ ।


