अस्थायी स्वास्थ्यकर्मीको हाजिरी रोकिँदा मधेशको स्वास्थ्य सेवा प्रभावित
जनकपुरधाम, २९ भदौ । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा रोक लगाएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ ।
चालु आर्थिक वर्ष सुरु भएको करिब दुई महिना पुग्न लाग्दासमेत अस्थायी दरबन्दी स्वीकृत हुने वा नहुने टुङ्गो नलाग्दा स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनसँगै सेवा प्रवाहमा अन्योल बढेको हो ।
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई चालु आर्थिक वर्ष २०८३/८४ का लागि दरबन्दी मन्त्रिपरिषद्बाट स्वीकृत नभएसम्म काममा नखटाउन तथा हाजिर नगराउन निर्देशन दिएको छ ।
मन्त्रालयका वरिष्ठ उपसचिव तथा सूचना अधिकारी राजेशकुमार मिश्रका अनुसार भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयपछि प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई यस्तो निर्देशन दिइएको हो ।
मन्त्रालयले अस्थायी दरबन्दी स्वीकृत नभएसम्म सम्बन्धित कर्मचारीलाई कामकाजमा खटाए वा कार्यालयमा हाजिर गराए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखले लिनुपर्ने स्पष्ट गरेको छ ।
मिश्रका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म मधेश प्रदेशका विभिन्न अस्पतालमा ४ सय ३२ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी अस्थायी दरबन्दीमा कार्यरत थिए ।
त्यस्तै, प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयलगायतका संस्थामा थप ३ सय ४२ जना अस्थायी जनशक्ति कार्यरत थिए ।
यसरी गत आर्थिक वर्षको अन्त्यसम्म प्रदेशभर ७ सय ७४ जना स्वास्थ्यकर्मी तथा कर्मचारी अस्थायी दरबन्दीमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये केही स्थायी नियुक्ति तथा पदस्थापनमा गइसकेका छन् भने केही अन्यत्र गएपछि करिब १ सय ५० स्थान रिक्त रहेको मिश्रले बताए ।
प्रत्येक आर्थिक वर्ष स्वास्थ्य संस्थाको आवश्यकता र जनशक्तिको अवस्थाका आधारमा अस्थायी दरबन्दी स्वीकृत गर्ने गरिए पनि चालु आर्थिक वर्षका लागि हालसम्म निर्णय हुन सकेको छैन । दरबन्दी स्वीकृत नहुँदा लामो समयदेखि अस्थायी रूपमा काम गर्दै आएका स्वास्थ्यकर्मीसमेत कामको निरन्तरताबारे अन्योलमा परेका छन् ।
अस्थायी जनशक्तिको हाजिरी रोकिएपछि अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति अभाव देखिन थालेको र त्यसको असर नियमित स्वास्थ्य सेवामा पर्न थालेको बताइएको छ ।
मन्त्रालयका सूचना अधिकारी मिश्रले भने अस्थायी दरबन्दीमा कार्यरत जनशक्तिको विवरण र स्वास्थ्य संस्थाको आवश्यकताका आधारमा चालु आर्थिक वर्षका लागि दरबन्दी स्वीकृतिको प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।


