जनस्वास्थ्य प्रयोगशालामा अस्थायी दरबन्दीका कर्मचारीलाई हाजिर नगराउन निर्देशन
जनकपुरधाम, २९ भदौ । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आर्थिक वर्ष २०८३/८४ का लागि अस्थायी स्वीकृत दरबन्दी नपाएका कर्मचारीलाई कार्यालयमा हाजिर नगराउन निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८३ भदौ २४ गतेको पत्रअनुसार प्रदेशअन्तर्गतका कार्यालयमा अस्थायी स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीमध्ये चालु आर्थिक वर्षका लागि दरबन्दी स्वीकृत नभएका कर्मचारीलाई हाजिर नगराउन निर्देशन दिइएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशले सोमबार एक सूचना जारी गर्दै प्रयोगशाला, स्वास्थ्य सेवा सञ्चालन तथा अन्य सम्बन्धित इकाइअन्तर्गत स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीलाई समेत सोही निर्देशनअनुसार काम गर्न आग्रह गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८३/८४ मा अस्थायी दरबन्दी स्वीकृत नभएका कर्मचारीलाई हाजिर नगराउने निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको हो ।
प्रयोगशालाका कार्यालय प्रमुख गुणानन्द प्रसाद साहले जारी गरेको सूचनामा मन्त्रालयको निर्देशनअनुसार हाजिरी व्यवस्थापन गर्न भनिएको छ ।
यससँगै अस्थायी दरबन्दीमा कार्यरत तर नयाँ आर्थिक वर्षका लागि दरबन्दी स्वीकृत नभएका कर्मचारीको कामकाज प्रभावित हुने भएको छ ।



