सभामुख यादवद्वारा औरहीमा गणेश मन्दिरको उद्घाटन
जनकपुरधाम, २९ भदौ । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले गणेश चतुर्थीको अवसरमा औरही गाउँपालिका–१ परनदेहियामा नवनिर्मित भगवान् श्री गणेश मन्दिरको उद्घाटन गरेका छन् ।
मधेश प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको सहयोगमा निर्माण गरिएको मन्दिरको उद्घाटन गर्दै सभामुख यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठमन्दिर र पर्यटकीय स्थलको संरक्षण, संवर्द्धन तथा विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे । यस्ता धार्मिक स्थललाई व्यवस्थित गर्दै पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा आर्थिक गतिविधिसमेत बढाउन सकिने उनको भनाइ थियो ।
मन्दिर उद्घाटन कार्यक्रममा औरही गाउँपालिका–१ का वडा सदस्य रामअशिष यादव, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रमोद यादव, युवा नेता रामबिहारी यादवसहित स्थानीयवासीको सहभागिता रहेको थियो ।

गणेश चतुर्थीको अवसर पारेर मन्दिर उद्घाटन गरिएपछि स्थानीयवासीले धार्मिक आस्था र सांस्कृतिक गतिविधिका लागि थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।
मन्दिरलाई स्थानीय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत पहल गरिने जनाइएको छ ।



