वृहत्तरका अध्यक्ष झा र सदस्य मिश्रले सम्हाले जिम्मेवारी
जनकपुरधाम, २९ भदौ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का नवनियुक्त अध्यक्ष कौशल किशोर झा र सदस्य अजित मिश्रले पदभार ग्रहण गरेका छन् ।
सरकारले परिषद्को अध्यक्षमा झा र सदस्यमा मिश्रलाई नियुक्त गरेपछि दुवैले आज परिषद् कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष झाले वृहत्तर जनकपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गर्दै विकासका गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पहिचान संरक्षणसँगै क्षेत्रको सौन्दर्यीकरण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
अध्यक्ष झाले परिषद्लाई थप सक्रिय र परिणाममुखी बनाउन कर्मचारी, स्थानीय तह, धार्मिक संघसंस्था तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए । उपलब्ध स्रोत तथा साधनको प्रभावकारी उपयोग गर्दै वृहत्तर जनकपुर क्षेत्रको विकासलाई गति दिने उनको भनाइ छ ।

जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वस्तरमा स्थापित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै झाले स्थानीय समुदायको सहभागितामा विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, नवनियुक्त सदस्य मिश्रले पनि परिषद्को उद्देश्य पूरा गर्न अध्यक्षसहित सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

वृहत्तर जनकपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई उपयोग गर्दै पूर्वाधार विकास, संरक्षण, सौन्दर्यीकरण र पर्यटन प्रवर्द्धनमार्फत क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने नयाँ नेतृत्वको लक्ष्य रहेको जनाइएको छ ।



