जलवायु अनुकूलनसम्बन्धी सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री यादव मनिला प्रस्थान
जनकपुरधाम, २९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव जलवायु परिवर्तनबाट प्रदेशमा उत्पन्न जोखिम न्यूनीकरण तथा अनुकूलनका विषयमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार मुख्यमन्त्री यादव र कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव थाइ एयरबाट मनिलातर्फ प्रस्थान गरेका हुन् ।
मनिलामा भदौ ३० र ३१ गते अर्थात् सेप्टेम्बर १५ र १६ मा आयोजना हुने Asia Climate Adaptation Investment Planning Forum (CAIP2026) मा उनीहरू सहभागी हुनेछन् । भ्रमणबाट नेपाल सरकार तथा प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने जनाइएको छ ।
सम्मेलनमा मधेश प्रदेशले जलवायु परिवर्तनका कारण भोग्दै आएको बाढी, डुबान, सुख्खा लगायतका जलवायुजन्य जोखिम, त्यसको न्यूनीकरण तथा अनुकूलनका उपायबारे अनुभव आदान प्रदान गरिने बताइएको छ ।
त्यस्तै, जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्यको सम्भावना पहिल्याउँदै मधेश प्रदेशका प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा भ्रमणलाई हेरिएको छ ।
जलवायु परिवर्तनका कारण बढ्दो जोखिमसँग जुध्न आवश्यक प्रविधि, स्रोत र लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सहकार्य महत्वपूर्ण हुने प्रदेश सरकारको विश्वास छ ।
भ्रमणले मधेश प्रदेशलाई जलवायुजन्य विपद्बाट सुरक्षित, दिगो र समृद्ध बनाउने प्रयासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।


