रौतहट, २९ भदौ । रौतहटमा लालबकैया खोलामा पानीसँगै बगाएर ल्याइएको अवस्थामा ठूलो परिमाणमा साल जातको काठ बरामद भएको छ ।

डिभिजन वन कार्यालय रौतहटका वन कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले सोमबार बिहान काठ बरामद गरेको हो ।

जङ्गलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत लालबकैया खोलाको गर्जा पुलनजिक राति करिब २ बजे गस्तीमा रहेको टोलीले खोलामा काठ बगिरहेको देखेपछि नियन्त्रणमा लिएको हो ।

वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढासहितको टोलीले खोलामा निगरानी गर्ने क्रममा काठ फेला पारेको थियो । काठ भेटिएपछि थप जनशक्तिका लागि जङ्गलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीसहितको संयुक्त टोली घटनास्थल पुगेको थियो ।

वन कार्यालयका अनुसार बरामद काठमध्ये साल जातका ४ थान गोलिया र १ थान चौपाटा गरी ५ थान रहेका छन् । बरामद काठको कुल परिमाण २७ दशमलव ४७ क्युबिक फिट रहेको छ ।

वन कर्मचारी तथा सुरक्षाकर्मीको टोली पुगेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू काठ छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको वन कार्यालयले जनाएको छ । उनीहरूको पहिचान तथा खोजी कार्य भइरहेको छ ।

बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी वन कार्यालयको नियन्त्रणमा राखिएको छ । वन कार्यालयले घटनाबारे थप अनुसन्धान गर्दै काठ तस्करीमा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ ।