जनकपुरधाम, २९ भदौ । जनकपुरधामसहित मिथिलाञ्चलमा आज परम्परागत चौठचन्द्र पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।

मिथिलाञ्चलको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको चौठचन्द्रका लागि बिहानैदेखि घरघरमा तयारी गरिएको छ भने पर्वका सामग्री खरिद गर्नेको चहलपहल बजारमा बढेको छ ।

भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा विशेषगरी महिलाहरूले व्रत बसेर साँझ उदाउँदो चन्द्रमाको पूजा गर्ने परम्परा छ ।

पर्वका लागि घर तथा आँगन सरसफाइ गरी गाईको गोबरले लिपपोत गर्ने र आँगनको मध्यभागमा विभिन्न आकृतिसहितको अरिपन बनाउने गरिन्छ ।

अरिपनमा दीप प्रज्वलन गरी चन्द्रदेवको पूजा गरिन्छ । पूजाका क्रममा फलफूल, मिठाई, दहीलगायतका प्रसाद सामग्री चन्द्रमालाई अर्पण गर्दै अघ्र्य दिने परम्परा रहेको छ । पूजा सम्पन्न गरेपछि व्रत समापन गर्ने चलन छ ।

चौठचन्द्र पर्वसँग भगवान् कृष्णको धार्मिक प्रसङ्गसमेत जोडिएको छ । द्वापर युगमा भगवान् कृष्णमाथि चोरीको आरोप लागेपछि त्यसबाट मुक्त हुन फलफूलसहित चन्द्रदर्शन गरेको धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिएको जनश्रुति छ ।

मिथिलाञ्चलमा चौठचन्द्र पर्वको शुरुवात तत्कालीन दरभंगा नरेश हेमांगद ठाकुरले गरेको जनविश्वास छ । प्रकाण्ड ज्योतिषका रूपमा समेत परिचित ठाकुरले पर्वको शुरुवात गरेपछि मिथिलाञ्चलका घरघरमा चौठचन्द्र मनाउने परम्परा बसेको मानिन्छ ।

धार्मिक आस्था र मिथिलाको मौलिक संस्कृतिसँग जोडिएको चौठचन्द्र पछिल्लो समय परिवार तथा समुदायबीचको सामाजिक एकता र सांस्कृतिक पहिचान जोगाउने पर्वका रूपमा समेत स्थापित हुँदै गएको छ ।