जनकपुरधाम, २९ भदौ । हिन्दु धर्मावलम्बी महिलाले मनाउने तीज पर्व पछिल्लो समय मिथिलाञ्चलमा समेत लोकप्रिय बन्दै गएको छ ।

विगतमा तराई मधेशमा पहाडी समुदायका महिलामा बढी सीमित रहेको तीज पछिल्लो समय मैथिल समुदायका महिलाले समेत उत्साह र श्रद्धापूर्वक मनाउन थालेका छन् ।

तीजको अवसरमा जनकपुरधामका शिव मन्दिरमा बिहानैदेखि व्रतालु महिलाको भीड लागेको छ । मिथिलाञ्चलका विभिन्न शिवालय तथा मन्दिरमा समेत महिलाहरुले सामूहिक रुपमा पूजा आराधना गर्दै तीज मनाइरहेका छन् ।

व्रतालु महिलाहरुले भगवान शिवको पूजा, आराधना र उपासना गर्दै पति तथा सन्तानको दीर्घायु, परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । धार्मिक मान्यताअनुसार भगवान शिवको आराधना गरी तीजको व्रत बस्दा पति तथा सन्तानको दीर्घायु हुने विश्वास छ ।

पहाडी समुदायमा लामो समयदेखि विशेष महत्वका साथ मनाइँदै आएको तीज पछिल्लो समय मैथिल समुदायका महिलामा पनि विस्तार हुँदै गएको छ ।

यसले विभिन्न समुदायबीचको सांस्कृतिक आदान प्रदान र सामाजिक सद्भावलाई समेत बलियो बनाएको स्थानीय महिलाहरु बताउँछन् ।

तीज धार्मिक आस्था र परम्परासँग जोडिएको पर्व भए पनि पछिल्लो समय महिलाहरुका लागि भेटघाट, सुख दुःख साटासाट तथा सामूहिक सांस्कृतिक अभिव्यक्तिको अवसरसमेत बन्दै गएको छ ।

मिथिलाञ्चलमा बढ्दो तीजको रौनकले यहाँको सामाजिक तथा सांस्कृतिक विविधतालाई थप जीवन्त बनाएको छ ।