रसुवा बाढीमा बेपत्ता महोत्तरीका परिवारसँग सुरक्षा समितिको भेट
महोत्तरी, २८ भदौ । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरो तथा विपद्मा परी हालसम्म सम्पर्कविहीन रहेका महोत्तरीका व्यक्तिका परिवारसँग जिल्ला सुरक्षा समिति महोत्तरीले स्थलगत भेटघाट गरेको छ ।
जिल्ला सुरक्षा समिति महोत्तरीको टोलीले रसुवा विपद्मा परी सम्पर्कविहीन रहेका जिल्लाका नौ जनामध्ये चार जनाका परिवारसँग भेट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिएको हो ।

टोलीले पिपरा–३ का विकास यादव, जलेश्वर–१० का सुशीललाल दास, मटिहानी–७ का गंगाराम मण्डल र जलेश्वर–७ का हसान अन्सारीका परिवारसँग भेट गरेको छ ।
भेटका क्रममा राज्यका तर्फबाट बेपत्ता व्यक्तिको खोजी, उद्धार तथा पहिचानका लागि भइरहेको प्रयासबारे परिवारलाई जानकारी गराइएको थियो ।

साथै, परिवारका सदस्यहरूको अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा आवश्यक सहयोगका विषयमा समेत जानकारी लिइएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का कारण आफ्ना आफन्त सम्पर्कविहीन हुँदा परिवारमा परेको पीडाप्रति प्रशासन गम्भीर रहेको बताए ।
उनले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि राज्यका सम्बन्धित निकायबाट भइरहेको प्रयासबारे परिवारलाई नियमित रूपमा जानकारी गराइरहेको बताए ।

‘विपद्मा आफन्त गुमाउने वा लामो समयसम्म सम्पर्कविहीन हुँदा परिवारले भोग्नुपरेको पीडा अत्यन्तै संवेदनशील विषय हो । प्रशासन परिवारको दुःख र अवस्थाप्रति गम्भीर छ । राज्यका तर्फबाट भइरहेको खोजी तथा उद्धार प्रयासबारे परिवारलाई जानकारी गराउँदै आवश्यक समन्वय र सहयोग निरन्तर गरिनेछ,’ प्रजिअ यादवले भने ।
प्रशासनले रसुवा विपद्मा सम्पर्कविहीन रहेका महोत्तरीका अन्य व्यक्तिका परिवारसँग पनि भेटघाट तथा आवश्यक समन्वय गर्ने जनाएको छ ।

तस्बिरहरू: जिल्ला प्रशासन कार्यालय, महोत्तरी


