धनुषाबाट विभिन्न मुद्दाका ५ फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, ११ कार्तिक । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले खोजतलास र आवश्यक समन्वय गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरू लागुऔषध, सवारी ज्यान तथा बैंकिङ कसुरलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न धनुषा जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीमध्ये दुई जनालाई लागुऔषध मुद्दामा जनही दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तथा एक जनालाई सवारी ज्यान मुद्दामा दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यसैगरी, अर्का एक प्रतिवादीलाई दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तथा बैंकिङ कसुर मुद्दाका एक प्रतिवादीलाई एक महिना कैद र आठ लाख रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पठाइएको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





