जनकपुरधाम, ११ कार्तिक । मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले आफ्नो ४७औँ वार्षिकोत्सव विभिन्न साहित्यिक, नाट्य तथा सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ ।

परिषद्ले आगामी कार्तिक १९ गते आफ्नो स्थापना दिवसका अवसरमा विशेष समारोह आयोजना गर्न लागेको हो ।

मिनापले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार वार्षिकोत्सवको शुरुवात बिहान ८ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रमबाट हुनेछ ।

त्यसपछि दिउँसो २ बजेदेखि ‘आमलोकको नजरमा मिनाप’ विषयमा विमर्श गरिनेछ ।

दिउँसो ३ बजेदेखि दुईवटा कविताको नाट्य मञ्चन तथा ३ः३० बजेदेखि ‘मिनापको इतिहासदेखि वर्तमानसम्म’ विषयमा प्रस्तुति राखिनेछ । अपराह्न ४ बजेदेखि सांस्कृतिक कार्यक्रमसहित समारोहको समापन गरिने कार्यक्रम छ ।

मिनापका अध्यक्ष सुनील मल्लिकका अनुसार वार्षिकोत्सव स्थापना दिवस मनाउने औपचारिक कार्यक्रम मात्र नभई संस्थाको ऐतिहासिक यात्रा, उपलब्धि र वर्तमान अवस्थाबारे समीक्षा गर्ने अवसर पनि हो ।

मैथिली भाषा, साहित्य, नाटक तथा मिथिलाको मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा मिनापले पुर्‍याउँदै आएको योगदानलाई नयाँ पुस्तासम्म जोड्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।

मल्लिकले मिनापको यात्रा जनकपुरधामको नाट्य तथा सांस्कृतिक चेतनासँग जोडिएको उल्लेख गर्दै यसको निरन्तरता र विकासका लागि कलाकार, साहित्यकार, रंगकर्मी तथा आमसमुदायको साथ आवश्यक रहेको धारणा राखे ।

उनका अनुसार वार्षिकोत्सवमार्फत संस्थाको विगतलाई स्मरण गर्दै वर्तमान गतिविधि र भावी सम्भावनाबारे पनि छलफल गरिनेछ ।

कार्यक्रमअन्तर्गत ‘आमलोकको नजरमा मिनाप’ सत्रमा संयोजक श्यामसुन्दर शशि, कविताको नाट्य मञ्चनमा परमेश झा र रमेश रञ्जन तथा ‘मिनापको इतिहासदेखि वर्तमानसम्म’ विषयक प्रस्तुतिमा सुनील मल्लिकको भूमिका रहनेछ ।

रक्तदान कार्यक्रमको संयोजन धीरज ठाकुरले गर्नेछन् भने सांस्कृतिक कार्यक्रम तथा समापनको संयोजन रामनारायण ठाकुरले गर्नेछन् ।

जनकपुरधामस्थित अदालतको छेउमा रहेको मिनापको नाटकघरमा आयोजना हुने समारोहमा दर्शक, कलाकार, साहित्यकार, रंगकर्मी तथा सम्पूर्ण कलासाहित्यप्रेमीलाई सहभागी हुन परिषद्ले आग्रह गरेको छ ।