माटोमा पुरिएको अवस्थामा सकेट बमजस्तो वस्तु फेला
सिरहा, २८ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलीमा माटोमा पुरिएको अवस्थामा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
स्थानीयवासीले माटोमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनास्थलमा नेपाली सेनाको टोलीसमेत पुगेको छ । फेला परेको वस्तु वास्तविक बम हो वा अन्य कुनै विस्फोटक पदार्थ भन्ने विषयमा सेनाको टोलीले परीक्षण तथा आवश्यक जाँच गरेपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।
घटनास्थललाई सुरक्षित राख्दै शंकास्पद वस्तुको प्रकृति पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।


