बारा, २८ भदौ । बारामा तीन दिनको अवधिमा चार बालबालिका बेपत्ता भएका छन् ।

निजगढ नगरपालिका–९ शान्तिटोलका १४ वर्षीय कृष्ण आचार्य बेपत्ता भएको तीन दिन बितिसक्दा पनि अवस्था पत्ता लाग्न नसकेको अवस्थामा जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट एकै परिवारका तीन बालबालिका बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान शनिबार साँझ करिब ५ बजेदेखि सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार धिरज गहुँगोरो वर्णका छन् । उनले खैरो जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका थिए । उनको कपाल कालो र ठूलो रहेको तथा चप्पल नलगाएको बताइएको छ ।

त्यस्तै, सुन्दरी गहुँगोरो वर्णकी छन् । उनले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी छन् । उनको कपाल कालो रहेको प्रहरीले जनाएको छ । काजल पनि गहुँगोरो वर्णकी छन् । उनले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी छन् भने उनको कपाल कालो रहेको प्रहरीले जनाएको छ ।

यसअघि निजगढ–९ शान्तिटोलका १४ वर्षीय कृष्ण आचार्य विद्यालयबाट घर नफर्किएपछि बेपत्ता भएका थिए । परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराए पनि उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

चारै जना बालबालिकाको खोजीका लागि प्रहरीले आवश्यक समन्वय र प्रयास भइरहेको जनाएको छ । उनीहरूलाई कसैले कतै देखे वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाए तत्काल जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ ।