जनकपुरधाममा गुठीका अतिक्रमित पोखरी खाली गर्न थप १५ दिनको समय
जनकपुरधाम, २८ भदौ । गुठीका पोखरी तथा पोखरीका डिलमा निर्माण गरिएका अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई थप १५ दिनको समय दिइएको छ ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलका विभिन्न प्रतिवेदनले औँल्याएका अतिक्रमित पोखरीलाई चरणबद्ध रूपमा अतिक्रमणमुक्त गर्ने अभियानअन्तर्गत थप समय दिइएको हो ।
यसअघि भदौ १९ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरिएको थियो । सोहीअनुसार भदौ २७ गतेदेखि संरचना हटाउने तयारी गरिएको थियो ।
तर, अनुगमनका क्रममा कतिपय सम्बन्धित व्यक्तिले संरचना आफैँ हटाउन सुरु गरेको र थप समय माग गरेपछि कार्यान्वयन समितिले १५ दिनको अतिरिक्त समय दिएको हो ।
गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार रेखाङ्कन तथा नक्साङ्कनका आधारमा पोखरी र पोखरीका डिलमा रहेका संरचनाको अनुगमन गर्दा कतिपय संरचना आधा भागसम्म हटाउनुपर्ने अवस्था देखिएको थियो । तत्काल डोजर लगाएर हटाउँदा थप क्षति हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिलाई आफैँ संरचना हटाउन समय दिइएको उनले बताए ।
थप समय दिइएका पोखरीमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गोन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जीरो माइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्ड रहेका छन् ।
तोकिएको थप अवधिभित्र पनि अतिक्रमित संरचना पूर्णरूपमा नहटाए कार्यान्वयन समितिले आफैँ संरचना हटाउने जनाएको छ । गुठी संस्थानले यसअघि पनि नक्साङ्कनका आधारमा केही अतिक्रमित संरचना हटाइसकेको जनाएको छ ।


