विराटनगर, २८ भदौ । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई अस्पताल लैजाने भन्दै चालकले सडकमा छाडेर फरार भएपछि उनको मृत्यु भएको छ ।

आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि कोशी अस्पताल पठाउन सफारीमै राखेका थिए ।

तर, चालकले घाइते बस्नेतलाई अस्पताल नपुर्याई विराटनगर–७ स्थित मालपोत कार्यालय नजिकै सडकमा छाडेर सफारीसहित फरार भएको प्रहरीले जनाएको छ । सिमसिम पानी परिरहेका बेला मालपोत कार्यालय नजिकै बस्नेत मृत अवस्थामा फेला परेका थिए ।

सुरुमा मृतकको पहिचान खुलेको थिएन । पछि उनको पहिचान खुलेपछि सिटी सफारीको ठक्करपछि चालकले अस्पताल लैजाने क्रममा सडकमा छाडेर फरार भएको तथ्य बाहिर आएको हो ।

घटनापछि प्रहरीले फरार चालकको खोजी तीव्र पारेको थियो । खोजीका क्रममा आइतबार बिहान करिब साढे ८ बजे सिटी सफारी चालक मोरङको कटहरी गाउँपालिका–२ का ५५ वर्षीय अर्जुन भगतलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भगतलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले दुर्घटनापछि घाइतेलाई सडकमा छाडेर फरार भएको विषयलाई समेत अनुसन्धानको दायरामा राखेको जनाएको छ ।