बाढी विस्थापित परिवारलाई मासिक १५ हजारसम्म सहायता दिने सरकारको निर्णय
जनकपुरधाम, २८ भदौ । गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले आवास तथा आवश्यक खर्च व्यवस्थापनका लागि आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले स्थायी आवास निर्माण नभएसम्म बाढी प्रभावित परिवारलाई घरभाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।
निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम दिने व्यवस्था गरिएको छ ।
सरकारको यो सुविधा लिन नचाहने परिवारका लागि भने स्थायी आवास निर्माण नहुन्जेलसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिइएको मन्त्री तिमिल्सिनाले बताए ।
आर्थिक सहायता उपलब्ध गराउन आवश्यक विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको सरकारले जनाएको छ । प्रभावित परिवारको संख्या र आवश्यकताका आधारमा सहायता वितरण प्रक्रिया अघि बढाइनेछ ।
सरकारले बाढीबाट भएको प्रारम्भिक क्षति तथा नोक्सानीको मूल्याङ्कन सम्पन्न गरिसकेको जनाएको छ । अहिले विस्तृत आवश्यकता मूल्याङ्कनको काम भइरहेको र त्यसका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाइने मन्त्री तिमिल्सिनाले बताए ।


