जनकपुरधाम, २८ भदौ । मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको चौरचन पर्वका अवसरमा धनुषाका दुई स्थानीय तहले स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका र कमला नगरपालिकाले भोलि सोमबार चौरचन पर्वका अवसरमा कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले उपमहानगरपालिका कार्यालय, मातहतका वडा कार्यालय र नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले बिदाका दिन पनि स्वास्थ्य सेवा, दमकल, सरसफाइ लगायत अत्यावश्यक सेवाहरू भने नियमित सञ्चालन हुने जनाएको छ ।

स्थानीय बिदासम्बन्धी निर्णयबारे प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरी घिमिरेले सूचना जारी गरी जानकारी गराए ।

यस्तै, कमला नगरपालिकाले पनि चौरचन पर्वका अवसरमा पालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा स्थानीय बिदा दिने निर्णय गरेको छ ।

नगरप्रमुख विशेश्वर यादवका अनुसार पालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था तथा मातहतका कार्यालयमा बिदा लागू हुनेछ ।

मिथिलामा चौरचन पर्वलाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाउने गरिन्छ । पर्वका अवसरमा चन्द्रमाको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ ।