वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
पर्सा, २८ भदौ । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सडक सीमाभित्र पर्ने अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाएर सोमबारसम्म सडक विस्तारको काम सम्पन्न गर्ने तयारी गरिएको छ ।
हेटौँडास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान आसपास सडक विस्तारका क्रममा देखिएको विवादसमेत समाधान गरी कामलाई पूर्णता दिने तयारी छ । सडक विस्तारसँगै नापजाँचको काम पनि एक साताभित्र सम्पन्न गर्ने योजना रहेको उनले जानकारी दिए ।
हाल सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको छ । घरधनीले आंशिक रूपमा मात्रै भत्काएका कारण बाँकी रहेका संरचना हटाउने कामसमेत तीव्र पारिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक विस्तारअन्तर्गत पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २ सय घर तथा भवनका अगाडिका भाग डोजर प्रयोग गरी हटाइएको थियो । उत्तरतर्फ गण्डक क्षेत्र र दक्षिणतर्फ मितेरी पुलबाट एकैपटक आधा दर्जनभन्दा बढी डोजर परिचालन गरेर संरचना हटाइएको थियो ।
सडक सीमाभित्र पर्ने संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धित घरधनीलाई आग्रह गरिएको थियो । तोकिएको समयसीमामा धेरै संरचना नहटाइएपछि सडक डिभिजन कार्यालयले गत असार २० गतेदेखि पुनः डोजर परिचालन गरी दोस्रो चरणको अभियान थालेको थियो ।
सडक विस्तार सम्पन्न भएपछि वीरगञ्जको मुख्य बजार क्षेत्रमा आवागमन सहज हुनुका साथै सडकको स्वरूपसमेत थप व्यवस्थित हुने विश्वास गरिएको छ ।


