जनकपुरधाम, २८ भदौ । जनकपुरधामस्थित तराई डेन्टल क्लिनिकले सद्गुरु कबीर बाल आश्रममा रहेका सम्पूर्ण बालबालिकालाई आजीवन निःशुल्क दन्त उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

क्लिनिककी सञ्चालक तथा दन्त रोग विशेषज्ञ डा. मिशा महासेठले आश्रममा रहेका बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित दन्त परामर्शदेखि आवश्यक सम्पूर्ण दन्त उपचार निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।

डा. महासेठले बालबालिकाको स्वस्थ दाँत र सुन्दर मुस्कान उनीहरूको स्वास्थ्यसँगै आत्मविश्वास तथा उज्ज्वल भविष्यसँग पनि जोडिएको बताइन् ।

आर्थिक वा अन्य कारणले कुनै पनि बालबालिका आवश्यक दन्त उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूहरूले यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको उनको भनाइ छ ।

‘बालबालिकाको स्वस्थ मुस्कान र उज्ज्वल भविष्य हाम्रो साझा जिम्मेवारी हो । सद्गुरु कबीर बाल आश्रममा रहेका सम्पूर्ण बालबालिकालाई आजीवन दन्त परामर्श तथा आवश्यक सम्पूर्ण दन्त उपचार निःशुल्क उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो । स्वस्थ दाँत सुन्दर मुस्कानका लागि मात्र नभई समग्र स्वास्थ्य र आत्मविश्वासका लागि पनि महत्वपूर्ण छ,’डा. महासेठले भनिन् ।

तराई डेन्टल क्लिनिकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसम्बन्धी सेवामा योगदान पुर्‍याउने जनाएको छ ।

आश्रमका बालबालिकालाई नियमित दन्त परीक्षण, परामर्श तथा आवश्यक उपचारमार्फत मौखिक स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यसमेत राखिएको छ ।