सिरहामा शिक्षामन्त्री पोखरेलविरुद्ध होहल्ला, सांसद भन्छन्– ‘लखेटिएको होइन’
जनकपुरधाम, २७ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझाव संकलन गर्न सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलको सम्बोधनलाई लिएर विवाद भएको छ ।
पाठ्यक्रम विकास केन्द्रको आयोजनामा शनिबार भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाले पाठ्यक्रम परिमार्जनका लागि आ–आफ्ना सुझाव राखेका थिए । त्यसपछि औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले धारणा राखेका थिए ।
कार्यक्रमको निर्धारित वक्ताका रूपमा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोको नाम रहे पनि उनलाई बोल्न समय नदिई शिक्षामन्त्री पोखरेललाई सम्बोधनका लागि आग्रह गरिएपछि विवाद उत्पन्न भएको बताइएको छ ।
आफूलाई धारणा राख्ने अवसर नदिइएको भन्दै सभापति महतोले कार्यक्रममा प्रश्न उठाएका थिए । महतोका अनुसार वक्ताको सूचीमा आफ्नो नाम रहेपनि बोल्ने समय नदिएपछि आफूले त्यसबारे प्रश्न गरेको हो ।

विवाद र होहल्लाको अवस्था सिर्जना भएपछि शिक्षामन्त्री पोखरेलले छोटो सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिएको रास्वपाका सांसद शिव यादवले बताए । उनले मन्त्रीलाई कार्यक्रमस्थलबाट लखेटिएको भन्ने प्रचार गलत भएको दाबी गरे ।
‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो । सामान्य विवाद भएपछि उहाँले सम्बोधन छोट्याएर निस्किनुभएको हो । लखेटिएको होइन,’ सांसद यादवले भने ।
यता, जिल्ला समन्वय समिति सिरहाका सभापति महतोले भने आफूलाई बोल्ने अवसर नदिइएको विषयमा मात्रै प्रश्न उठाएको बताए ।
पछिल्ला केही दिनदेखि शिक्षामन्त्री पोखरेल मधेशका विभिन्न जिल्लामा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन् ।
औरहीको कार्यक्रममा भएको विवादले भने सुझाव संकलनको कार्यक्रमसँगै राजनीतिक तथा प्रशासनिक प्रतिनिधिबीचको समन्वयको विषयसमेत चर्चामा ल्याएको छ ।


