जनकपुरधाम, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाको सातौँ जिल्ला अधिवेशनबाट रामचन्द्र यादव तेस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार जनकपुरधाममा सम्पन्न अधिवेशनले यादवलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।

यादवको पुनः अध्यक्षमा निर्विरोध चयन भएपछि उनलाई बधाई तथा शुभकामना दिने क्रमसमेत सुरु भएको छ ।

शुभेच्छुकहरूले यादवलाई राष्ट्रवादी विचारधाराका व्यक्तिका रूपमा उल्लेख गर्दै पुनः जिल्ला नेतृत्वको जिम्मेवारी पाएकोमा बधाई दिएका छन् ।

यादवसँगै युवा नवीन झा नगर अध्यक्षको जिम्मेवारीमा चयन भएको भन्दै शुभेच्छुकहरूले राप्रपाको जिल्ला तथा नगर नेतृत्वमा नयाँ उत्साह देखिएको बताए ।

राप्रपा जिल्ला कार्यसमिति धनुषाको आयोजनामा सम्पन्न अधिवेशन शनिबार बिहान सुरु भएको थियो ।

अधिवेशनबाट जिल्ला नेतृत्वसँगै पार्टीको आगामी गतिविधि र संगठन सुदृढीकरणका विषयमा समेत छलफल भएको जनाइएको छ ।