दशैँको तयारीमा जुट्यो राम युवा कमिटी, विभिन्न उपसमितिका संयोजक तोकिए
जनकपुरधाम, २७ भदौ । श्री राम युवा कमिटी जनकपुरधामको ७९औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाले आगामी शुभ विजयादशमी २०८३ लाई लक्षित गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि उपसमिति गठन गरेको हो ।
साधारण सभाले माता बौधी देवी मन्दिर व्यवस्थापनका लागि रवीन्द्र ठाकुर, माता अन्नपूर्णा अमरखाना मन्दिरका लागि दिलीप साह र महाअष्टमी कालरात्रि (ठेहा) व्यवस्थापनका लागि राम प्रताप साहलाई संयोजक तोकेको छ ।
त्यस्तै, भजन सन्ध्या कार्यक्रमको संयोजकमा अजय कुमार साह ‘शिक्षा’, सुरक्षा समितिमा आनन्द कुमार मण्डल, विज्ञापन समितिमा कोषाध्यक्ष विनय साह तथा दशैँभरि भोजन व्यवस्थापन समितिमा रामकुमार मण्डल र संजय कुमार ठाकुरलाई जिम्मेवारी दिइएको छ ।
महाअष्टमी निःशुल्क भोजन व्यवस्थापनको संयोजकमा राम गोविन्द साह र कालरात्रि खुट्टा तथा खम्बा लाइन व्यवस्थापनको संयोजकमा जोगिन्दर दासलाई जिम्मेवारी दिइएको छ । बेलतोरी, बेलनौती तथा शुभकामना कार्यक्रमको जिम्मेवारी भने कार्यसमितिलाई दिइएको छ ।
यसैगरी, टेन्ट, लाइट तथा साउन्डको अनुगमनका लागि राम कुमार मण्डललाई संयोजक तोकिएको छ । छठ पर्वको पूजा समितिको संयोजकको जिम्मेवारी पनि राम कुमार मण्डललाई दिइएको छ ।
मूल अर्थ संकलन समितिमा अध्यक्षसहित सम्पूर्ण संरक्षण समितिका सदस्यहरूलाई जिम्मेवारी दिइएको कमिटीले जनाएको छ ।











