राप्रपा धनुषाको जिल्ला अधिवेशन विवादित, एक पक्षद्वारा बहिष्कार
जनकपुरधाम, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाको जिल्ला अधिवेशन पार्टीभित्रकै एक पक्षले बहिष्कार गरेपछि विवादित बनेको छ ।
अधिवेशनबारे आफूहरूलाई कुनै जानकारी नदिइएको भन्दै राप्रपाका केन्द्रीय सुशासन विभागका केन्द्रीय सदस्य श्रवण झा नेतृत्वको पक्षले जिल्ला अधिवेशन बहिष्कार गरेको हो ।
झाका अनुसार आफूहरूलाई अधिवेशनबारे औपचारिक रूपमा कुनै सूचना दिइएको थिएन । अन्य माध्यमबाट सूचना पाएपछि मात्रै अधिवेशन हुन लागेको जानकारी भएको भन्दै उनले आपत्ति जनाए ।
वडा समिति, क्षेत्रीय समितिलगायतका आधारभूत तहका समितिहरूको अधिवेशन नै सम्पन्न नभएको अवस्थामा जिल्ला अधिवेशन गर्नु पार्टीको विधान र प्रक्रियासम्मत नभएको झाको दाबी छ ।

आफूहरूले उठाएका विषयलाई सम्बोधन नगरी अधिवेशन अघि बढाइए समानान्तर जिल्ला समिति गठन गर्नसमेत पछि नहट्ने उनले चेतावनी दिए ।
अधिवेशन बहिष्कार गरेपछि राप्रपाकै नेता तथा कार्यकर्ताहरूले राप्रपा मधेश प्रदेशका अध्यक्ष भरत गिरीविरुद्ध नाराबाजीसमेत गरेका थिए । नाराबाजी गर्दै उनीहरू अधिवेशनस्थलबाट बाहिरिएका थिए ।
एक पक्षको बहिष्कार र नाराबाजीपछि राप्रपा धनुषाको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्रको विवाद सतहमा आएको छ ।
जिल्ला नेतृत्व चयनका विषयमा देखिएको असन्तुष्टिले आगामी दिनमा पार्टीभित्रको विवाद थप चर्किन सक्ने देखिएको छ ।



