सत्ता स्वार्थका लागि कांग्रेस–एमालेसँग सहकार्य गर्नु गल्ती थियो: उपेन्द्र यादव
जनकपुरधाम, २७ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सत्ता स्वार्थका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्नु आफ्नो पार्टीको ठूलो गल्ती भएको बताएका छन् ।
जनकपुरधाममा शनिबार ‘९ दलीय अग्रगामी मोर्चा’को मधेश प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् ।
उनले नेपालका कम्युनिस्ट पार्टीहरू सिद्धान्तबाट विचलित भएर सत्ताकेन्द्रित बनेको आरोप लगाउँदै मुलुकको वर्तमान अवस्थाका लागि एमाले प्रमुख जिम्मेवार रहेको दाबी गरे ।
मधेश प्रदेश गठन भए पनि मधेशी समुदायको शासन, प्रशासन, भाषा र संस्कृतिको अधिकार अझै स्थापित हुन नसकेको यादवको भनाइ थियो । उनले कांग्रेस र कम्युनिस्टहरूले दिन नसकेको अधिकार अग्रगामी मोर्चाले संघर्षमार्फत प्राप्त गर्ने दाबी गरे ।
यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै नागरिकमाथि जन्मदेखि मृत्युसम्म विभिन्न प्रकारका करको भार थपिएको आरोप लगाए ।
संसदमा मधेशी समुदायका प्रतिनिधि भए पनि मधेशीका अधिकारका विषयमा प्रभावकारी आवाज उठ्न नसकेको भन्दै उनले अब सडक आन्दोलनको विकल्प नरहेको बताए ।
उनले जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरेसम्म वास्तविक लोकतन्त्र स्थापित हुन नसक्ने जिकिर गरे ।
संविधान संशोधन, संघीयता सुदृढीकरण, सुशासन र न्यायका विषयमा सरकार प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउँदै यादवले चाडपर्वपछि जनताको न्यायका लागि ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
यसैबीच, रसुवामा भएको बाढीलाई सामान्य विपत्ति नभई ठूलो राष्ट्रिय संकटका रूपमा लिनुपर्ने यादवको भनाइ थियो ।
उनले बाढीको कारणबारे वैदेशिक पक्ष जोडिएको दाबी गर्दै नेपालले क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा रसुवा बाढीको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राख्दै विपत्तिमा परेकाहरूलाई सहयोग गर्न सबै पक्षलाई आह्वान गरे ।


