जनकपुरधाम, २७ भदौ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ले ९ दलीय अग्रगामी मोर्चा कुनै निर्वाचनलाई लक्षित गरेर गठन नगरिएको बताएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै शर्माले मुलुकको वर्तमान राजनीतिक आवश्यकता र उत्पीडित वर्गको अधिकारका लागि मोर्चा गठन गरिएको बताए ।

उनले मुलुक अहिले प्रभावकारी प्रतिपक्षविहीन अवस्थाजस्तो देखिएको भन्दै सरकार र संसद्लाई सही दिशामा अघि बढाउन मोर्चाले दबाब तथा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

शर्माका अनुसार मोर्चा तत्कालको चुनावी प्रयोजनका लागि मात्र नभई दलित, उत्पीडित तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाइनेछ । उनले मोर्चालाई दीर्घकालसम्म कायम राख्ने उद्देश्य रहेको समेत बताए ।

उनले उत्पीडित समुदायका नागरिकले न्याय र अधिकार पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै कसैलाई पनि ललिता पासवानको जस्तो अवस्था भोग्न नपर्ने गरी राजनीतिक संरचना निर्माण गर्नुपर्ने धारणा राखे ।

मोर्चालाई अहिले तल्लो तहसम्म विस्तार गर्ने काम भइरहेको जानकारी दिँदै शर्माले यसको निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

विभिन्न राजनीतिक दल र समूहबीच साझा विचार र उद्देश्यका आधारमा एकता सम्भव भएको उनको भनाइ थियो ।

उनले मोर्चाभित्र आबद्ध दल तथा नेतृत्वबाट कुनै कमजोरी वा गल्ती भए त्यसबारे कार्यकर्ता र जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा समेत जोड दिए ।