संकट समाधानका लागि अग्रगामी मोर्चा आवश्यक: प्रभु साह
जनकपुरधाम, २७ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकट समाधानका लागि अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।
जनकपुरधाममा शनिबार आयोजित अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चा सरकार ढाल्ने उद्देश्यले गठन नगरिएको स्पष्ट पारे ।
उनले मुलुक अहिले राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक, जलवायु तथा प्राकृतिक विपत्तिजस्ता बहुआयामिक संकटबाट गुज्रिरहेको बताए । यस्ता समस्यालाई माय्र सत्ता परिवर्तनको दृष्टिकोणबाट हेरेर समाधान गर्न नसकिने उनको भनाइ थियो ।
साहका अनुसार अग्रगामी मोर्चाको उद्देश्य मुलुकलाई जोड्ने, संकटबाट जोगाउने, नयाँ राजनीतिक निकास दिने, विगतमा प्राप्त उपलब्धिको रक्षा गर्ने तथा जनताका थप अधिकार सुनिश्चित गर्नु हो ।
मोर्चामा आबद्ध राजनीतिक शक्तिहरूले विगतमा गरेका संघर्ष र योगदानको स्मरण गर्दै उनले त्यसबाट प्राप्त सकारात्मक अनुभवलाई वर्तमान संकट समाधानमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
सरकारको कामकारबाहीप्रति टिप्पणी गर्दै साहले अग्रगामी मोर्चा सत्ता परिवर्तनको खेलका लागि नभएको दोहोर्याए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताहरू सरकार ढाल्ने खेलमा सक्रिय रहेको आरोपसमेत लगाए ।
आगामी दिनमा मोर्चाको संगठनलाई देशभर विस्तार गर्दै कार्यकर्ता तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने साहले बताए । उनले विचार, संगठन र संघर्षको तयारीलाई सँगसँगै अघि बढाएर मोर्चालाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।
मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमार्फत संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि र आगामी कार्यक्रमका लागि आवश्यक तयारीलाई तीव्रता दिने उनले बताए ।


