एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने तयारीमा ९ दलीय अग्रगामी मोर्चा
जनकपुरधाम, २७ भदौ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले ९ दलीय अग्रगामी मोर्चामा आबद्ध दलहरू आगामी निर्वाचनमा एउटै चुनाव चिह्न लिएर सहभागी हुने तयारीमा रहेको बताएका छन् ।
जनकपुरधाममा मोर्चाको मधेश प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले तत्कालका लागि एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाने र आगामी दिनमा मोर्चामा आबद्ध दलहरूबीच स्थायी एकता कायम गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार विभिन्न राजनीतिक दलहरू एउटै मोर्चामा आबद्ध भएर अघि बढेकाले निर्वाचनमा समेत साझा रूपमा प्रस्तुत हुने तयारी भइरहेको छ । अहिले चुनावी सहकार्यका लागि एउटै चुनाव चिह्न प्रयोग गर्ने र त्यसपछि स्थायी राजनीतिक एकतातर्फ अघि बढ्ने योजना रहेको उनले बताए ।
जनकपुरधाममा आयोजित कार्यक्रममा मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ । भेलामा मोर्चाको आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार तथा जनपरिचालनका विषयमा छलफल भइरहेको छ ।
हाल अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल आबद्ध छन् ।
मोर्चाले देशभर कार्यकर्ता भेला तथा अभिमुखीकरणमार्फत आफ्नो राजनीतिक एजेन्डा तल्लो तहसम्म पुर्याउने र आगामी निर्वाचनलाई लक्षित गर्दै सङ्गठन विस्तार तथा जनपरिचालनलाई तीव्रता दिने तयारी गरेको छ ।


